अतिक्रमण भएका जग्गाको लालपुर्जा नबाँडियोस्
काठमाडाैं | माघ ७, २०८१
काठमाडौं: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणमा देखिएका समस्या सम्बोधन गर्न समयानुकूल हुनेगरी कानुन परिमार्जनको खाँचो औँल्याइएको छ ।
राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको आजको बैठकमा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतले तत्कालीन लाभ नहेरी दीर्घकालीन सोचका आधारमा राष्ट्रिय निकुञ्ज र वन्यजन्तुमैत्री कानुन निर्माण गर्न सुझाव दिनुभयो ।
राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षण व्यवस्थापनमा स्रोत अभाव रहेको जानकारी गराउँदै उहाँहरूले जलवायु परिवर्तनको असरले निकुञ्ज क्षेत्रमा खानेपानी र पोखरीको अभावले पनि केही चुनौती खडा गरेको बताउनुभयो ।
वरिष्ठ संरक्षण अधिकृतहरूले जङ्गली जनावरबाट मध्यवर्ती क्षेत्रका जनतालाई आक्रमण हुँदा तत्काल उद्धार तथा उपचार कोष र केन्द्रको व्यवस्थाको प्रबन्ध गर्न सुझाव दिनुभयो ।
राज्यले राजस्व उठाउनेतर्फ मात्र नभई राष्ट्रिय निकुञ्जकबाट पर्यटन प्रवर्द्धन, होटल व्यवसाय र रोजगारी सिर्जनामा पुर्याएको योगदानलाई समेत भुल्न नहुने जनाउँदै उहाँहरूले मध्यवर्ती क्षेत्रका जनताले झेल्नुपरेको समस्या समाधान गर्न विशेष खाले योजना र बजेटको व्यवस्थाका लागि पहल गरीदिन अनुरोध गर्नुभयो ।
राष्ट्रिय निकुञ्ज आर्थिक समृद्धिका लागि पर्यटक भित्र्याउने मुख्य थलो भएकाले हिमाल, नदी, वन्यजन्तु, धार्मिकस्थल तथा जीव र वनस्पतिको संरक्षणमा राज्यले विशेष ध्यान पुर्याउनु पर्ने उहाँहरूको भनाइ थियो ।
विभिन्न परियोजना र आयोजनाको नाममा प्रकृति सम्पदाको दोहन भइरहेकाले त्यसलाई रोक्न पर्ने बताउँदै वरिष्ठ संरक्षण अधिकृतले निकुञ्जले अतिक्रमणमा परेको भनी किटानी गरेको स्थानमा बसोबासका लागि लालपुर्जा वितरण गर्ने कार्य नहोस् भनी सुझाव दिनुभयो ।
पूर्वाधार निर्माण गरिँदा वातावरण र वन्यजन्तुमैत्री हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँहरूले संरक्षणको कार्य स्थानीय, निजी र सरकारी संयन्त्रको साझेदारीमा हुँदा फलदायी हुनेतर्क गर्नुभयो । उहाँहरूले वातावरणको समुचित सन्तुलन हुने गरी कानुन निर्माणमा ध्यान पुर्याउन सुझाव समेत दिनुभयो ।
यसअघि सदस्यहरूले राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका जनताबीचको सहकार्य तथा मानव र वन्यजन्तुबीच भइरहेको द्वन्द्व घटाउन चाल्नुपर्ने कदमका बारे जानकारी माग गर्नुभएको थियो ।
पोखरा: गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिनुभएको छ । तमु धिं नेपालले महान ...
मुस्ताङ: यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ...
म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ । भेडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन ...

